नेपालको खबर

Monday, February 13, 2017

दुबईको पाँच तारे होटलबाट भटमास र गुन्द्रुकको स्वाद चखाउने सेफ श्याम

– यादव देवकोटा 
गुन्द्रुक गर्व हो नेपालको । भटमास स्वादको अर्को उपहार हो नेपालको । नेपालीले विर्सन नसक्ने यी दुई परिकारले विस्तारै नेपालीहरु पुगेको अन्तर्राष्ट्रिय मुलुकहरुमा पनि मौका पाउन थालेको छ । तर चिनाउने हात सिपालु हुनुपर्छ । यस्तै अवसर पाएर गोरखाका श्याम अम्गाईले । खाडी मुलुक तिर खनिएकाहरु सबैले तातो वालुवा नै खोतल्नु पर्छ भन्ने मान्यतालाई तोड्दै अम्गाईले दुबईको चर्चित पाँच तारे होटलबाट अहिले गुन्द्रुक र भटमासको स्वादलाई संसार भर छरिरहेका छन् । धेरैले उनको हातको स्वाद चाखेर नेपालको परिकार र परिचय पनि पाइसकेका छन् । अम्गाईको यो उमंगले उनलाई हिजो पसिना तुरुरु बगाएको विजोगका काठमाडौंको बेरोजगार जीवन बेलाबेलामा सम्झाउने गर्छ पनि ।
 
यिनी गर्वले भन्छन – मत हजुर नेपालको एक बेरोजगार यूवा । काम गरेर खान के को लाज ? काम सानो होस या ठूलो काम कामनै हो । यदि मैले यति सानो काम बाट मेरो जिन्दगीको यात्रा तय गर्थिन भने आज मेरो जीबनमा यति सहज हुन्थेन होला र मेरो परिवारको अनुहारमा खुसी छाउदैन थियो होला । यहि मेहनत र उनको इमान्दारिताले पनि हुन सक्छ आज गोरखा तान्द्राङ्गका श्याम अम्गाइलाई खाडीको बालुवामा सुन फलाउने अवसर मिल्यो । संयुक्त अरब इमिरेट्सको दुवई शहरको एक नाम चलेको पाँच तारे होटल ब्रो , ग्रस्भेनोर हाउस बाइ लि मेरिडिएन मारिनाको स्लोनेस रेस्टुरेन्टमा काम गर्ने अवसर जुट्यो अम्गाईलाइ । रेस्टुरेन्टको तल्लो स्तरको काममा भर्ति भएका अम्गाई काम सिकेर करीब आठ बर्षको बसाइमा हेड सेफ भएपछि हास्दै भन्छन –
सुरुमा त तल्लो स्तरको कामबाटै रेष्टुरेण्टको जीवन सुरु गरे तर अहिले मैले यो रेष्टुरेन्टको पूरा जिम्मेवारी सम्हालेको छु र अब रेष्टुरेण्टको मेरो जिम्मेवारी भित्र पर्छ ।
 
मेहनत र इमान्दारिताले एक सामान्य परिवारको नेपाली पनि यो स्थान सम्म पुग्न सक्दो रहेछ । आजकाल सम्झन्छु र आफै छक्क पर्छु, अम्गाईले भने । भन्छन पनि लोग्ने मान्छको भाग्य ……….भगवान पनि थाहा हुँदैन रे ।
श्याम खाडी मुलुकमा रमाउने र कमाउने यूवाहरु मध्ये एक हुन, उनी भन्छन– थुप्रै समाचारहरु देखेको र सुनेको छु । खाडीमा आएर दुख पाएका नेपालीहरुको खबरले नमजा त लाग्छनै तर हातमा सिप र प्रतिष्पर्धाबाट छानिएर आएका नेपालीहरुले सायद दुख पाएको खबर सुन्नु पर्दैन होला । नेपालबाट हातमा सीप नबोकी विदेश गइ कमाउने सपना बुनेर दलाल मार्फत आउनेहरुले मात्र यहाँ दुःख पाउने हो अरु सब खुसी छन् । यहाँ नपत्याय म संग काम गर्ने एक दर्जन नेपाली दाजु भाइ छन सोध्नुस, यिनीहरु कति खुशी छन् । म आफु मात्र यो खाडीमा अट्नको लागि स्वार्थी बनिन करिब ४० जना भन्दा बढीलाई मैले यहाँ काम लगाए । मेरो परिवार मात्र नभई आज यी दाजुभाइको परिवार पनि खुशी छन् । मैले जति सके त्यति गरे यो दुनियाँ स्वार्थी छन् तर मेरो जीवनमा मैलै स्वार्थलाई कहिल्यै महत्व दिइन् ।
 
अम्गाईले काम गर्ने रेष्टुरेण्टमा बिश्वका ख्यातीप्राप्त सेलिब्रेटी, खेलाडी, कलाकार र अरबपतिहरु आउँने गरेका छन् उनीहरुले श्यामको हातले पकाएको खाना खान्छन , त्यति मात्र कहाँ हो र श्यामले पकाएको परिकार चाख्नेहरुमा नेपालका उद्योगपति बिनोद चौधरी, कांग्रेसका नेता मीनेन्द्र रिजाल र एनआरएनका वरिष्ठ अधिकारीहरु पनि पुग्ने गरेका छन् ।
 
सेफ श्यामले उही होटलमा नेप्लिज विन्टर सुप भनेर गुन्द्रुक र भटमासको झोल मात्र बनाएनन् । त्यसोत अचार समेत उनले संसारका धेरै पाहुनाहरुलाई चखाए । त्यस्तै नेपालमा सबैभन्दा बढी मन पराइने ममलाई माउन्ट एभेरेष्ट ममको नाम दिई नेपालको सगरमाथालाई समेत खानाको नामबाट परिचित गराए ।

 

सफलता अघिको यात्रा

 
विभिन्न कालखण्डमा राजनीतिक हतियारका रुपमा युवालाई प्रयोग गर्ने तर नेपालका राजनीतिक दलहरुले तिनै युवाको बारेमा एक आँखाले पनि नहेरिदिदा यो अवस्था आएको हो भन्दा फरक पर्दैन । जुन देशमा मनग्य युवा शक्ति छ र रोजगारीको थुप्रै सम्भाबना छ तर त्यहि देशका नागरिक र युवा शक्तिको रोजगारीको अबसरमा पूर्णविराम लागेपछि युवाहरु विदेशिन बाध्य भए ।
 
यहि बाध्यता र विवशताको शिकार बने गोर्खा तान्द्राङ्गका श्याम अम्गाई पनि । अम्गाई गोर्खाको सामान्य किसान परिवारमा जन्मिए र उनको पढाइ लेखाइ पनि उही गाउँको सामान्य सरकारी स्कुलमा भयो । मेलापात, खनजोत र बनपाखा पहिलो प्राथमिकतामा पथ्र्यो र बचेको समय स्कुल । जे जसरी भएपनि स्कुल धानेर भएपनि एसएलसी सम्मको पढाइ सकेका अम्गाइले काठमाडौँ गएपछि जागिर पनि पाइने र पढ्न पनि पाइने सपना देख्न थाले र रातारात बाटो खर्चको जोहो गरि काठमाडौँ हानिए ।
 
गाउँबाट पहिलोपटक शहर पसेका अम्गाईलाइ शहरको रहनसहन भिडभाड अचम्म नलाग्ने कुरै भएन । यहि भिडभाडको बीच राम्रो जागीर खाने सपना देखेका अम्गाइको न हातमा सिप थियो न त कुनै काममा दक्षतानै । शहरमा सीप बिना आफुलाई बिकाउन बढो मुस्किल थियो र उनलाई पनि त्यस्तै भयो । आफुले देखेको सपना तुहिने निश्चित भएपछि अमगाई बढो दोधारमा परे र निराश भए, तर हतोत्साही भने कहिले भएनन् । त्यसोत अम्गाई काठमाडौँमै क्याम्पस भर्ना भए । देशको राजनीतिक परिबर्तनका नाममा भएका थुप्रै बिद्यार्थी आन्दोलनहरुमा नारा जुलुस देखि इँटा फ्याक्ने र टायर बाल्ने सम्मको गतिलै जागिरमा ज्यान फालेर लागे। यूवा छँदाको त्यो जोश र जाँगरले धरै दिन भने साथ दिन सकेन । देशमा राजनीतिक परिवर्तनहरु थुप्रै भए । ६२ ÷ ६३ को आन्दोलनमा ज्यानै बाजी राखेर सडक र गल्ली गल्लीमा घोक्रो फुट्ने गरि कराएका अम्गाइलाइ देशको ब्यबस्था परिबर्तन भएपनि लाखौँ यूवाहरुको अबस्था जस्ताको त्यस्तै हुने निश्चित भएपछि एकाएक कुनै काम सिक्ने र विदेशिने निर्णय गरे ।
 
बास्तबमा आज अम्गाइको जिन्दगीको टर्निङ्ग पोइन्ट पनि सायद यहि उनले गरेको निर्णयनै भयो भन्दा कुनै फरक पर्दैन । कसैलाई ढाँटेर र चोरेर खान हुँदैन तर काम गरेर खान के को लाज भन्दै अम्गाइले काठमाडौँका विभिन्न पर्यटकीय नगरी मानिने गल्ली र चोक चोकमा जागिरको लागि भौतारिंदै हिंडे ।
 
केहि समयको कुक तालिमले पर्यटकहरुको ओइरो लाग्ने ठमेलको एक होटेलमा जागिर पाएका श्याम अम्गाई भन्छन् जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै उनले आफ्नो काम प्रति मेहनत र इमान्दारिता देखाए र केहि बर्षमानै उनको सिकाइ र काम प्रतिको लगाबले उनि कुक भए । केहि बर्षको नेपाल बसाइ पछि उनको हातमा सीप भयो र उनी विदेश जानको लागि एक योग्य हातमा सीप भएका यूवाको लिस्टमा नाम दर्ज गराउन सफल भए । त आँट म पु¥याउछु भन्छन रे भगवानले पनि, अम्गाईले त्यही आँट गरे ….फलत सफलता उनको पाउँमा छ अहिले । 
टिभी जर्नालिस्ट यादब देवकोटाले गोरखाका श्याम अम्गाईलाइ यूएईको दुवै मरिनामा रहेको ग्रस्भेनोर हाउस बाइ लि मेरिडिएन मारिनाको स्लोनेस रेस्टुरेन्टमा भेटेर कुराकानी गरेका थिए  ।